विद्यालयमा अध्ययनरत बालबालिकाको गोपनीयता उल्लङ्घन अस्वीकार्य छ
November 10, 2025
२०८२, कात्तिक २० गते: वीरगञ्ज सिटी, वीरगञ्ज चर्चा न्यूज, र एसटिपी खबर नामक अनलाइनको फेसबुक पेजबाट सार्वजनिक भएको बाराको कलैया उपमहानगरपालिकाको छोटकी फूलवरियामा अवस्थित श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय र वीरगञ्ज महानगरपालिका वडा नं १५ भेडियाहीस्थित सामुदायिक विद्यालयसम्बन्धी भिडिओ सामग्रीप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । विद्यालयको शैक्षिक दुरावस्था उजागर गर्दैगर्दा बालबालिकाको गोपनियता र मनोविज्ञानमा पर्नसक्ने असरबारे ध्यान नदिइएको विषयले हामीलाई चिन्तित तुल्याएको छ।
शिक्षा क्षेत्रमा चुनौती र कमजोरीहरु छैनन् भन्नसक्ने अवस्था वास्तवमै छैन । मधेशका सरकारी विद्यालयहरुमा त समस्या झनै धेरै छन्। विद्यालयहरुका समस्याहरु उजागर गर्दा त्यहाँ अध्ययन गरिरहेका बालबालिकाहरुप्रति पर्याप्त सचेत हुनु जरुरी हुन्छ। प्रशस्त वैकल्पिक माध्यम र उपायहरु उपलब्ध हुँदाहुँदै बालबालिहरुको भिडिओ खिचेर सामाजिक सञ्जालमा अपलोड गर्नु जिम्मेवार पत्रकारिता हुन सक्दैन।
विद्यालय हाताभित्र अध्ययन गरिरहेको समयमा बालबालिकाहरुलाई प्रश्न गर्दै छायांकन गरी सार्वजनिक गरिएको उक्त भिडियो सामग्रीे ती बालबालिकाहरूको मनोविज्ञानमाथि दीर्घकालीन असर पार्न सक्ने, उनीहरूको गोपनीयता र अधिकारमाथि आघात पु¥याउने तथा बालसुरक्षासम्बन्धी कानुनी मापदण्डहरूको उल्लङ्घन गर्ने प्रकृतिको छ ।
बालबालिकाको गोपनीयता, सम्मान र अधिकारको सुरक्षा हाम्रो साझा जिम्मेवारी हो । यस प्रकारको कार्यले बालबालिकाको अधिकार हनन् गर्नुका साथै पत्रकारिताको नैतिक मापदण्ड र उत्तरदायित्वमाथि पनि प्रश्न उठाएको छ ।
हामीले यो घटनालाई बालबालिका ऐन, २०७५ को धारा ८ र धारा ६६, साथै नेपालको संविधान, २०७२ को धारा २८ (गोपनीयताको हक) र धारा ३९ (बालबालिकाको अधिकार) अनुसार बालबालिकाको गोपनीयता र अधिकारमाथिको उल्लङ्घन ठानेका छौं।
त्यसैगरी, प्रेस काउन्सिल नेपालद्वारा जारी मिडिया आचारसंहिताले बालबालिकासँग अन्तर्वार्ता गर्नुअघि अभिभावक वा विद्यालय प्रशासनको अनुमति लिनुपर्ने र उनीहरूको पहिचान खुल्ने गरी सामग्री सार्वजनिक नगर्नुपर्ने स्पष्ट प्रावधान पनि हामी यहाँ स्मरण गर्न चाहन्छौं।
सानो पाइला अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्छ, तर पत्रकारिताको अभ्यास सधैं नैतिक मापदण्ड, संवेदनशीलता, र मानवअधिकारको सम्मानका साथ हुनुपर्नेमा दृढ छ । यस प्रसङ्गमा सम्बन्धित मिडिया संस्था र पत्रकारलाई आफ्ना सामग्रीमाथि पुनरावलोकन गर्न, भिडिओमा समेटिएका बालबालिकाका दृश्यहरु हटाउन, तथा भविष्यमा बालबालिकाका विषयहरुमा संवेदनशील भईदिनुहुन आग्रह गर्दछौं।
सानो पाइला बालबालिकाको सुरक्षाका पक्षमा सधैं आवाज उठाउँदै आएको छ र यस घटनाले बालसुरक्षासम्बन्धी मापदण्ड र जिम्मेवारीबारे पुनः स्मरण गराएको छ । हामी सम्बन्धित निकाय र सरोकारवालाहरूसँग मिलेर बालमैत्री पत्रकारिता र नैतिक मिडिया अभ्यास प्रवद्र्धनका लागि निरन्तर पहल गरिरहनेछौं ।
-1762764837.jpg)